(२०७० मंसिर १० गते स्मार्ट इन्फोटेकद्वारा आयोजित निबन्ध प्रतियोगितामा दोस्नो हुन सफल निबन्ध)
मनित दाहाल (कक्षा १०)
एक मानवले अहिले बिताउने उसको हरेक दिन निकै नै सूविधायुक्त बनेको छ । लामो यात्रा गर्नको लागि अब पैदल नहिँडे भयो, टाढाटाढाका नातेदारहरूसँग बसीबसी कुरा गर्न मिल्ने भयो । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट चिन्दै नचिनेको मानिस पनि अब नजिकका हुन थाले । यस्तो सूविधा सम्पन्न जीवनयापन गर्नको लागि वर्तमान परिप्रेक्ष्यमा यन्त्र यानिकी कम्प्युटरकै मुख्य देन रहेको कुरा स्पष्ट छ ।
कम्प्युटर भनेको एक यस्तो विद्युतीय उपकरण हो, जसले इनपुट गरिएको डाटालाई वैज्ञानिक ढङ्गले प्रशोधन गरी आकर्षक र सरल ढङ्गमा आउटपुट दिने गर्दछ । अहिले बालक देखि वृद्धासम्म सबैले यसको प्रयोग गर्न थालेका छन् । यसको प्रयोग शैक्षिक, क्षेत्र देखी वैज्ञानिक हुँदै घरायसी क्षेत्रमा पनि गर्न सिकेपछि बालक देखि वृद्धासम्म सबैको लागि ज्ञानको खानीको रुपमा काम गर्ने कम्प्युटर अहिले विश्वमै सबैभन्दा लोकप्रिय रहेको यन्त्रका रुपमा स्थापना भइसकेको छ । यसले कहिले देखि मानव जीवनमा टेवा दिन थाल्यो भन्ने यकिन नभए पनि करिब ६० देखि ७० वर्ष अगाडि यसको जन्म भएको आँकडा छ ।
कम्प्युटरका गुणको चर्चा गर्ने हो भने आधा जीवन बित्न बेर लाउँदैन । साना बालकहरूको मनोरञ्जनको साधन, किशोरकिशोरीको लागि सामाजिक सञ्जालको माध्यम, अर्धबैँसेहरूका लागि काममा सघाउने एक असल साथि र वृद्धाहरूका लागि किताबै किताबको पूस्तकालय भन्दा फरक नपर्ला । यसका सकारात्मक पक्षहरूले मानिसको भित्रको रुपमा यसलाई स्थापना गरिसकेको छ । कम्प्युटरकै माध्यमबाट मानिसले चन्द्रमामा पाइला टेक्यो, आधुनिक युगका घरहरू बनायो, घडि देखी लिएर ठूला ठूला खानीहरूमा काम गर्ने डोजर जस्ता यान्त्रिक उपकरणसम्म मानिसले बनाइसक्यो । यति मात्र नभई जस्तो सुकै कार्य पनि सरल र सफल रुपले सम्पन्न गर्ने यन्त्रमानव सम्म कम्प्युटरकै माध्यमले मानिसले बनाइसकेको छ । सानो कलमको टुप्पोको मोटाई देखि अन्तरिक्षयानको लम्बाईसम्म निर्धारण गर्न सक्ने यन्त्र, ‘कम्प्युटर’ मानव जीवनको एक अभिन्न अङ्ग बन्न पुगिसक्यो । विद्यार्थीको लागी एक असल मित्र तथा अभिभावकको गुण पनि यसमा रहेको पाइन्छ । यसले यतिसम्म सूविधा दिइसक्यो कि एक गृहृणीले घरमा बनाउने मिठा मिठा परिकारको तरिका देखि कार्यालयमा काम गर्ने कर्मचारीको हिसाब सुल्झाउने काम समेत यसले गर्ने गरेको पाइन्छ । ‘हरेक चीजको सकारात्मक गुण जति हुन्छ त्यति नै उसको नकारात्मक गुण पनि हुन्छ ।’ यो भनाई एक महान् व्यक्तिको थियो, जुनकुरा शत प्रतिशत साँचो हो । कम्प्युटरका नकारात्मक प्रभाव पनि उत्तिकै छन् , जति यसको सकारात्मक प्रभाव छ । जापानमा खसेका दुई अणु बम, बनाउनको लागि कम्प्युटरको पनि भूमिका रहेको पाइन्छ ।
कम्पयुटरप्रति धेरै लगाव राख्ने व्यक्तिको आँखा कमजोर हुन्छ । कम्प्युटरको अनियन्त्रित प्रयोगले एक विद्यार्थीको पढाइमा निकै असर पर्दछ । कम्प्युटरबाट अश्लिल दृश्य हेर्ने कयौँ किशोरावस्थाका मानिसहरूको लगावले पढाइप्रतिको रुचि घट्न थालिसकेको कुरा धेरै अनुसन्धानहरूले देखाइसकेका छन् । यदि कम्प्युटरको विकास नभएको भए, सायद जापानको हिरोसिमा र नागासाकीमा अहिले स्वस्थ शिशुहहरूले रुखबाट मिठा मिठा फलका दानाहरू चुड्दै खान्थे की ? इराक, रसिया, अमेरिका जस्ता देशहरूमा उहिलेका फाटाहरू उत्पन्न नै हुने थिएनन् कि ? अणु बम जस्ता विस्फोटक पदार्थले कहाँ कहिले कसरी, कसलाई मार्ने हो भन्ने त्रासबाट कोहि पनि भयभित हुन नपर्ने थियो कि ? यस्ता कि लाग्ने प्रश्नहरू अझै हजारौँ छन् ।
तसर्थ कम्प्युटरमात्र नभई कुनै पनि यन्त्र तथा साधन अनियन्त्रित रुपले प्रयोग गर्नु हुँदैन भन्ने कुरा माथिका कुराहरूबाट स्पष्ट हुन्छ । यदि कम्प्युटरको उचित प्रयोग हुने हो भने अबको एक शताब्दिमा यो विश्वको रङ्ग नै फेरिने निश्चय छ तर यसको अनियन्त्रित प्रयोगले केबल एक पलमा विश्व ध्वस्त नपार्ला भन्न सकिँदैन ।
अन्त्यमा विश्वमा भइसकेका र हुनेवाला विकासका कार्यहरूमा कम्प्युटरले मुख्य भूमिका खेलेको र खेल्ने साथै यसको अनियन्त्रित वा दुरुपयोगले क्षणभरमा हामी आफैंलाई पनि टुक्रा टुक्रा पार्ने कुरा स्पष्ट भएकोले, सोचेर र बुझेर मात्र यसको प्रयोग गर्नुपर्ने प्रेरणा सबैले लिनुपर्ने देखिन्छ ।