(२०७० मंसिर १० गते स्मार्ट इन्फोटेकद्वारा आयोजित निबन्ध प्रतियोगितामा प्रथम हुन सफल निबन्ध)
आस्था सुवेदी (कक्षा ९)
आजको युग आधुनिक युग हो, वैज्ञानिक युग हो, ज्ञान विज्ञानका नित्य नवीन क्षितिज उद्घाटित भइरहने युग हो । विज्ञानका आश्चर्यलाग्दा आविष्कारले विश्वलाई नै मन्त्रमुग्ध पारेको युग हो । हो, आधुनिक युगको सर्पलाई वैज्ञानिक आविष्कारले मन्त्रमुग्ध पारेको छ र मादरीको तालमा नचाइदिएको छ । आज हामीसँग अन्तरिक्षयान छ, वायुयान छ । कृत्रिम भू–उपग्रह, हवाइजहाज, रेल, इन्टरनेट जे जति हामी वरिपरि छन्, ती सबै वैज्ञानिक आविष्कारहरु हुन् । यी सबका बीच पनि यो एक्काइसौँ शताब्दीको विकासको राज हो कम्प्युटर । विज्ञानले पस्केका उपहार दिन–प्रतिदिन बढ्दै छन् र ती उपहारसँग यो मन दंग छ । त्यस्तै हाम्रो जीवनका हरेक पलमा प्रयोग हुने कम्प्युटर यो शताब्दीले हामीलाई दिएको एक अभूतपूर्व उपहार हो ।
विज्ञानका जटिलतम समस्याहरु क्षणभरमा नै त्रुटिरहित तरिकाले समाधान गर्न सक्ने एक विद्युतीय यन्त्र नै कम्प्युटर हो । यो मानव मस्तिष्क भन्दा छिटोछिटो काम गर्छ । यसको गतिको कुरा गर्दा जो कोही पनि आश्चर्यचकित पर्छ । हो, मानवद्वारा निर्मित यो यन्त्र बिजुलीको सहायताले काम गर्छ । यसको धेरै काम एकैपटक गर्न सक्ने क्षमता छ । मुख्यतया कम्प्युटरलाई तीन भागमा बाँड्न सकिन्छः हाम्रो ज्ञानेन्द्रियले जस्तो काम गर्ने इनपुट युनिट, दिमागले जस्तो काम गर्ने सेन्ट्रल प्रोसेसिङ युनिट र हात मुखले जस्तो काम गर्ने आउटपुट युनिट छन् यसभित्र । यसले मानवबाट तथ्याङ्क र समस्या लिन्छ , त्यसलाई संसोधन प्रशोधन गर्छ र पछि नतिजाको रुपमा दिन्छ । आज जुनसुकै स्थानमा पनि मानवलाई सहायता गर्ने यो यन्त्रले हामीलाई चरा बनेर उड्न सघाउँछ, जमिनमा गुड्न पनि । अन्तरिक्षमा पुगी मानिस रमाएको छ, यो यन्त्रले गर्दा । मानव जीवनको एक अभिन्न अङ्ग बन्यो यो यन्त्र ।
कम्प्युटरको पुर्ख्यौली खोज्दै जाँदा अन्दाजी दुई हजार वर्ष पहिले चीनमा गणनाका लागि प्रयोग गरिने अवाकस नामक हाते औजारसम्म पुग्न सकिन्छ । पछि चाल्र्स बैबेजले एनालाइटिकल इन्जिन को आविष्कार गरे । कम्प्युटरका पिता भनेर मानिने बैबेजले गरेको उक्त आविष्कारमा अहिले कम्प्युटरले जस्तै गरी काम गर्ने प्रक्रियाहरु थिए । हिजोका र आजका कम्प्युटरमा हामी धेरै फरक पाउँछौँ र भोलिका कम्प्युटर अझ राम्रो हुन्छन् भन्ने विश्वास छ ।
जीवनले चुमेको यो उचाई, सहजता, सरलताको राज हो कम्प्युटर । आज यदि समयसँगै चल्ने हो भने कम्प्युटर अत्यावश्यक नै छ । आज हामी जे गरौँ, जता जाऔँ, कम्प्युटरको प्रयोग नहुने ठाउँ प्रायः छैन । अन्तरिक्ष वा धर्ती, घर वा सहर, देश वा विदेश, बैङ्क वा व्यापारिक संस्था, स्कूल वा कलेज, जहाँ पनि कम्प्युटरको प्रयोग हुन्छ । कम्प्युटरको प्रयोगले मानिस अन्तरिक्षमा रकेट पुर्याउँछ, यन्त्रमानव प्रयोग गर्छ । रोबोटको आविष्कारले पारेको प्रभाव, घरेलु काममा सहजता, बैङ्कको काममा सरलता, व्यापारको तीब्रता सबै हेर्दा कम्प्युटर यो शताब्दीको वरदान झैँ लाग्छ ।
आज कम्प्युटरको प्रयोग नहुने ठाउँ नै खासै छैन । एक ठाउँमा बसेर मानिस विश्व चाहार्छ । काठमाडौँमा बसेर हुम्ला जुम्लाको उपचार सम्भव छ । घरमै बसेर शिक्षित हुन सकिन्छ । अनलाइन जवले गर्दा रोजगारी सिर्जना भएको छ । आज विरोधीको प्रतिकार गर्न सजिलो छ, शिक्षाको लहर फैलाउने जादु छ, जीवनका पल सञ्चित गर्ने साधन छ , मिनेटमा हाम्रो काम गर्ने भगवान् छ, उद्योगमा सहजता छ । कामदारको तथ्याङ्क होस् या घरेलु कामको विवरण सबै कम्प्युटरमा नै छ । अल्छि लागेमा गेमबाट मनोरञ्जन लिन सकिन्छ । फिल्म बनाउन र हेर्न सकिन्छ । मात्र कम्प्युटर चाहिन्छ, विश्व ब्रम्हाण्ड थर्काउन सकिन्छ । यो यन्त्र चाहिन्छ, अनि शिक्षित, सभ्य र जानकार भइन्छ । अस्तिको चुनाव प्रचारप्रसारमा कम्प्युटर, औषधी बनाउन कम्प्युटर, विवरण र तथ्याङ्क सङ्कलन गर्न पनि कम्प्युटर । विदेशिएको आफन्तसँग निकट रहन सकिन्छ । आज ई–कमर्स, ई–गभर्नेन्स, ई–ट्रेनिङ सबैले गर्दा जीवनले चुमेको त्यो उचाई, धर्तीमा सीमित मानिसले छोएको आकाश हेर्दा कम्प्युटर वरदान नै लाग्छ ।
एकातर्फ जीवनले चुमको त्यो उचाइ, त्यो सहजता, दूरीका बीचको एकता हेर्दा कम्प्युटर जीवनको वरदान जस्तो लाग्छ । अनि कोल्टे फेर्दा यसका नकारात्मक प्रभाव हेर्दा मनमा चिसो पस्छ । यतैकतै अल्झिएको मानिसको जीवन, अश्लीलताको बिगबिगी, अल्छिपनको विकास, उफ् । खाना पकाउन कम्प्युटर, लुगा धुन कम्प्युटर, भाँडा माझ्न कम्प्युटर । मानिसको यो निर्भरता हेर्दा कतै ऊ अब चपाइदिएको खाने मात्रको हो कि जस्तो लाग्छ कि ऊ आलस्यताको पोको हो । शङ्का छ, गुगल दाईलाई सबै सोधेर आफूचाहिँ कहाँ दिमाग लगाउने ? चुमेको त्यो उचाइ, त्यो प्रकाशमा कतै दाग लाग्छ कि । प्रश्नको लहर छ । कतै यसरी नै समय चलिरहे हामीचाहिँ के गर्ने ? दिन त्यस्तो पनि आउन सक्छ, मानिस मात्र एउटा वस्तु बन्नेछ र कम्प्युटरले उसको निर्भरता बढाउने छ ।
कम्प्युटरको प्रयोक्ता विश्वमा नै ३ अरब छन् र तीमध्ये ५०% को हातहातमा इन्टरनेट छ । राम्रो ज्ञान नभई यस्तो प्रविधिको प्रयोगाले विश्वसमा सन्त्रास छाएको छ । गुप्तचरले गरेको सूचना चूहावत, सामाजिक सञ्जाल मार्फत् हुने अश्लिलताको बिगबिगी, सञ्चित गरेका विवरण हराउँदा आउने समस्या, कम्प्युटर ह्याकिङ, साइबर क्राइमले ल्याउने दुर्दशा सबै हेर्दा डर लाग्छ । विश्वमा शीतयुद्धको पुनरावृत्तिको डर छ । कम्प्युटरमा निर्भर हुँदाहुँदै परेको आघात, मनमा चिसो पस्छ । कतै यसरी नै दिन दुई गुना, रात चौगुना गर्दै आपराधिक क्रियाकलाप बढ्दै गए विश्वमा द्वन्द्व त फैलिँदैन ? अमेरिकाको रिमोट कन्ट्रोलले मेरो देश ध्वस्त पार्छ कि ? अतिले खति हुन्छ । आफैँ सजग हुनु छ, सामाजिक प्राणी हो, सचेत हुनु छ । विदेशबाट चलेको हावा, महँगिदो जीवनशैली, सबैसँग लड्नैपर्छ ।
आज मानिस सूपर कम्प्युटर प्रयोग गर्न उद्यत छ । शक्तिशाली र क्षमतावान् ती कम्प्युटरले विश्वमा परिवर्तन ल्याउने पक्का छ । हिजोभन्दा आज राम्रो र भोलि झन् राम्रो हुनेछ युग । गुलाबको हाँसोबीच पनि उन्यौँको रोदन हुन्छ नि । नराम्रा काम नहुनका लागि कम्प्युटर प्रयोक्ता आफू नै सचेत हुनुपर्छ । यदि यो यन्त्रको सही प्रयोग गर्न सके देशको विकास हुन्छ, जुग बदलिन्छ र भोलिका दिनमा सहजता, सरलताको मुहान आउने छ । हो, शान्त पोखरीको एउटा ढुङ्गाले ल्याउने तरङ्ग जस्तै तरङ्ग छाउने छ जीवनमा ।